काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका हुन्। खाणको पक्षका वकिलले डेढ दिन लगाएर गरेको बहसमा पहिलो दिन मंगलबार १० जनाले बहस गरे। यस्तै बुधवार थप पाँच जना वकिलले बहस गरेका हुन्।
मंगलबार खाणका तर्फबाट शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए।
यस्तै बुधवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, ललितबहादुर बस्नेत र खम्बबहादुर खातीले बहस गरे।
न्यायाधीश प्रेस प्रसाद न्यौपानको इजलासमा खाणको तर्फबाट बहस गर्दै गोपालकृष्ण घिमिरेले सम्भावना बोकेका नेताको इमेज ड्यामेज गर्न बिना प्रमाण मुद्दा चलाइएको जिकिर गरे। उनले टेकनारायण पाण्डेले हिरासतबाट खाणलाई लेखेको भनिएको पत्रको पनि कुनै आधिकारिकता नभएको जिकिर गरे।
‘टेकनारायणको पत्र प्रमाण बनाउने कागजको रूपमा अभियोजन पक्षले पेस गरेको छ। तर त्यो कागजमा हस्ताक्षर र ल्याप्चे छैन’, घिमिरेले इजलासमा भने, ‘खाँणले पैसा बुझेको प्रमाण के छ? सीसीटीभी फुटेको थियो होला। यो मुद्दा सार्वजनिक जीवन समाप्त पार्ने गरी बिना प्रमाण आएको छ।’
भविष्यमा कांग्रेस पार्टीको सभापति बन्न सक्ने सम्भावना बोकेको मान्छेलाई ड्यामेज गरिएको उनको जिकिर थियो। ‘हचुवाको भरमा मुद्दा लगाइएको छ। उहाँलाई साधारण तारेखमा रिहा गरिनुपर्छ,’ उनले भने।
उसो त मंगलबारको बहसमा पनि वकिलहरुले बालकृष्ण खाणको बचाउ गरेका थिए। अधिवक्ता पंकज कर्ण यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए।
इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने समेत जिकिर गरेका थिए।
‘यो मिल्ने अवस्था छैन। यो प्रकरणमा टेकनारायण पाण्डेले नरेन्द्र केसीलाई पत्र लेखेको भन्ने कुरा जुन छ, केपी बालगायतलाई भनेर। त्यसमा ठूलो प्रमाण मानेको छ’, उनको भनाइ थियो, ‘त्यहाँ बालकृष्ण खाण अपराधी भनेर पुष्टि हुँदैन। सहअभियुक्तको पोलले खाणविरुद्ध वस्तुनिष्ठ प्रमाण पुग्दैन।
उनले लिखत किर्तेसम्बन्धी कसुरमा पनि खाणले यहाँ यहाँ कीर्ते गरेको कुनै प्रभाव नभएको बताए। उनले भने, ‘यो मुद्दामा लेनदेनमा कसैलाई मेसेज पनि गरेको छैन।’
यसैगरी वरिष्ठ अधिवक्ता महादेव यादवले अदालतमा खाणले गरेको इन्कारी बयान अनुसन्धानमा प्राप्त दसी भन्दा विपरीत नभएको बताए।
अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए। बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर थियो।
अब इजलासमा आङ्टावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ। उनीहरुको बहस आजै सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी छ। न्यायाधीशले आजै थुनछेक बहस सकेर आदेश दिने यसअघि घोषणा गरेको भएपनि प्रतिवादीतर्फका वकिल धेरै हुँदा बहस लम्बिन पुगेको हो।