काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा सिंगापुरमा मात्र नियमित उपचार गराउँदै आएका छन्। मंगलबार (आज) राति ११ देउवा ‘फलोअप’का लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २–२ वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो। २०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेन।
भानुका अनुसार पार्टीको १४ औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण ‘फलोअप’ रोकिएको थियो। देउवाले २०७० यता सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा उपचार गराउँदै आएको देखिन्छ। ‘करिब डेढ दशक अघि वीर अस्पताल र टिचिङमा धेरै उपचार गराउनु भयो। टिचिङमा मधु घिमिरेले हेर्नु भएको थियो,’ भानुले रातोपाटीलाई भने, ‘रोग नै पत्ता लागेन। पछि सिंगापुरमा उपचार गराउँदा पेटमा समस्या देखियो।
उनका अनुसार २०७३ भदौ १० मा देउवा स्वास्थ्य जाँचका लागि पत्नी आरजु देउवा राणासहित सिंगापुर पुगेका थिए। त्यसपछि २०७५ साउन २३ मा पनि देउवा उपचारका लागि सिंगापुर गएका थिए।
त्यतिबेला आँखासँगै पेटमा समस्याको पनि उपचार गरिएको थियो। ‘सिंगापुरमा उहाँको आँखाको समेत उपचार गरेपछि चस्मा लगाउन छाड्नु भएको हो। आँखाको लेन्सको समस्या थियो, अहिले निको भएको छ,’ उनले भने।
भानुका अनुसार त्यसको ११ महिनापछि ९ जेठ २०७६ मा देउवा पुनः सिंगापुर गएका थिए। चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको छ। भानुका अनुसार कांग्रेस केन्द्रीय सदस्य तथा देउवा पत्नी आरजु राणा सोमबार नै सिंगापुर प्रस्थान गरिसकेकी छन्।
आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै छन्। देउवाका साथ भानु पनि जाने भएका छन्। भानुले भने, ‘मेडम (आरजु) हिजो नै गइसक्नु भएको छ। आज हामी जाँदैछौं।’
देउवा प्रधानमन्त्री रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका चिकित्सक रहेका डा. शैल रुपाखेतीले देउवामा कुनै स्वास्थ्य समस्या नरहेको बताए।
उनले रातोपाटीलाई भने, ‘मैले ११ महिना उहाँको स्वास्थ्यबारे नजिकबाट हेरेको छु। उहाँमा कुनै समस्या छैन। ब्लड रिपोर्ट त मेरोभन्दा राम्रो छ।’
देउवाले सामान्य डोजको प्रेसर सम्बन्धी औषधिमात्र सेवन गर्ने गरेको डा. रुपाखेतीको भनाइ । उनले भने, ‘उहाँले २.५ को डोजमा प्रेसर सम्बन्धी औषधि सेवन गर्नुहुन्छ। अरु कुनै रोगको औषधि सेवन गर्नु परेको छैन।’
डा. रुपाखेतीका अनुसार १०–१५ वर्षअघि देउवाले सिंगापुरमा आँखाको उपचार गराएका थिए। उनले भने, ‘पहिले उहाँले चस्मा लगाउनु हुनुहुन्थ्यो। १०–१५ वर्षअघि सिंगापुरमा आँखाको उपचार गराएपछि उहाँले चस्मा लगाइराख्नु परेको छैन।’