काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले एमालेमा ज्ञान लिन केपी ओली र नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भगवान (रवि लामिछाने) मात्रै भएको बताएका छन्।
मकवानपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेससँग ज्ञान लिन थुप्रै ठाउँ भए पनि एमाले र रास्वपामा त्यस्तो नभएको बताएका हुन्।
‘एमालेको कार्यकर्तालाई समस्या भयो भने बालकोट जान्छ। किनकी ज्ञान दिन केपी बा हुनुहुन्छ। अरु ठाउँ छैन’ गगनले भने, ‘नयाँ पार्टीमा मान्छे छैन, भगवान छ। कार्यकर्ताले भगवानलाई सोध्नुपर्छ। के गर्ने होला भगवानले भन्छन्।
तर कांग्रेसमा ज्ञान लिन, प्रश्नको उत्तर खोज्न तल्लो तहका कार्यकर्ता र शुभेच्छुक भएको भन्दै ज्ञान पनि कार्यकर्ताबाटै पाइने उनको भनाई छ।
कांग्रेसले चुनाव जित्यो। तर निराशा छ। अब किन निराशा छ भनेर खोज्नुपर्छ। प्रश्नको उत्तर तल गाउँमा बस्ने कार्यकर्तासँग छ। कांग्रेसलाई माया गर्ने शुभेच्छुकसँग छ’ थापाले भने, ‘संसद सकिएपछि मेची महाकाली यात्रा गर्छु। कार्यकर्ता भेट्न चाहन्छु। हाम्रो ज्ञान तल्लो तहकै कार्यकर्तामा छ।’
नेपाली समाजलाई आत्मविश्वास जगाउनुपर्ने भन्दै उनले निराशा होइन कांग्रेसले देशलाई नै आशा दिनुपर्ने बताए। २०८४ चुनाव हारिन्छ भन्ने धेरेलाई लागेको भन्दै उनले अर्को चुनावका लागि तीन चार वर्ष बाँकी रहेको सम्झन आग्रह गरे।
‘अहिले भर्खर ८० साल छ। अर्को चुनाव आउन चार वर्ष बाँकी छ। चुनाव हारे हारिन्छ’ थापाले भने, ‘चुनाव हार्ने जित्ने भइरहन्छ। कांग्रेस चुनाव जित्न मात्रै होइन देशलाई जिताउन बनेको पार्टी हो। यसैले पार्टीको बहस बदल्नुपर्छ।’