काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसद्मा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए। सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसद्मा फेरी पनि कुरा उठाउने बताए।
‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ। एक छिन जुरुक्क उठेर संसद्तिर घेर्न पुग्छ। किन भन्दा जलहरीको सुन हरायो रे। ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ। महालेखाको प्रतिवेदन सबै सांसदको हात हातमा दिएको छ। त्यो बारेमा छलफल गर्नै छ। हामीलाई चिन्ता के हो भने दश किलो पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेलाई अरू देशलाई के गर्लान्? कसले गर्यो? म भन्दिन’, उनले भने, ‘कुन प्रधानमन्त्रीले सुनको कोट लगाउनु भयो, कुन मन्त्रीले लगाउनु भयो? सुनै सुनको लुगा लगाएर को हिँड्नु भयो, त्यतातिर भन्दिन। तर बदमासीको छानबिन गर हामीले भनेको हो। त्यो भन्दा उहाँहरू फेरी संसद् घेर्न जानु हुन्छ। भोलीपल्ट कसले कुटाई खायो, संसद् घेर्न जानु हुन्छ। तर टिक्न सक्नु हुन्न। त्यस कारण संसद्लाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नु भयो। भैँसी–राँगाको कुरा गर्ने स्थल, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोज्नु हुन्छ। यसमा हाम्रो विरोध छ।
सांसद खतिवडाले संसद्मा उठेका सबै विषयमा छलफल गर्न संसद् स्वतन्त्र हुनुपर्ने बताए।