स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेन : मन्त्री बस्नेत - Chaitanya News
  • 2026-05-02
  • 23:49:17
  • शनिबार,बैशाख १९, २०८३
  • स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेन : मन्त्री बस्नेत

    स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेन : मन्त्री बस्नेत

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् ।

    आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताए।

    उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको बताए। बस्नेतले निजी अस्पतालहरूले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताए। उनले निजी क्षेत्रहरूले पनि स्वास्थ्य मापदण्डहरू पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए । उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजेपनि पाउन नसकेको बताए।

    उनले भने, ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन। यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन। स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधार गर्नुपर्नेछ। नीतिगत रूपमा नै हामी अघि बढ्नुपर्छ। यहाँ त स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाइँ रहेछ। निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो, मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भने। त्यसैले कतै पाउँदै नपाएको कतै पाउने भन्दा बढी सुविधा पाएको बेथितिहरू छन्, त्यसका लागि हामीले कार्ययोजना बनाएर अघि बढेका छौँ।

    मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाइ अघि बढिरहेको पनि बताए।