महामन्त्री थापा भन्छन् : आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ - Chaitanya News
  • 2026-11-16
  • 05:41:59
  • आइतबार,कार्तिक ३०, २०८३
  • महामन्त्री थापा भन्छन् : आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ

    महामन्त्री थापा भन्छन् : आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदलाई हेप्छ

    काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्। बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सके मात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क थियो।

    आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गरे।

    पार्लियामेन्ट सिस्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढ्नुपर्ने उनले बताए। महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्ड नै गठन गर्न उपयुक्त हुने धारणासमेत राखे।

    उनले भने, ‘बजेट ल्याएपछि सरकारसँग बहुमत छ। जस्ताको तस्तै पास हुन्छ। डराउनै परेन। बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ। यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ। अनि हामीहरूसँग सीमित ज्ञान हुन्छ। सीमित सूचना हुन्छ। यसको आधारमा यहाँ आएर बोल्दाखेरि कुण्डा पोख्छौँ। गाली गर्छौँ। तर, तथ्य, तथ्यांकले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौँ। बजेट निर्माणमा हामी सांसदहरूले व्यापक ढंगले काम गरेको नदेखेको हुनाले नागरिकहरूले हामीसँग मन्दिरमा गजुरका लागि पैसा माग्छन। इनार खन्न पैसा माग्छन। किनभने संसदमा त हामीले यहाँ टेबल मात्रै ठोकेको देखिरहेका हुन्छन्। हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन। अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन। स्रोत केमा खर्च गर्ने, कसरी खर्च गर्ने यावत् कानुन बनाउने अधिकार हामीसँग छ। त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौँ। त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ। जे गरे पनि हुन्छ भन्छ। किनभने पार्लियामेन्ट सिस्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ। र, हामीकहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन। त्यसैले माननीय सदस्यहरूलाई मेरो आग्रहचाहिँ यो बजेट त अब पास भएर जान्छ। मन्त्रीलाई पार्दिनु है भनेर भन्नुपर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो। बजेट प्रणालीमा सुधार गरौँ।’