कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। पुर्नवास नगरपालिकाको आयोजना तथा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा सञ्चालित कुष्ठरोग रोकथाम (एलपेप) कार्यक्रम अन्तर्गत वडा नम्बर–९ मा तीन जना नयाँ बिरामी फेला परेका हुन्। शरीरको जाँच गर्ने क्रममा फेला परेका चार जना संकास्पद बिरामी मध्ये तीन जनामा रोग पुष्टि भएको हो भने, एक जना संकास्पद बिरामीलाई निगरानीमा राखिएको छ।
पुनर्वास नगरपालिका वडा नम्बर ९ परासन स्वास्थ्य चौकी प्रमुख रामचन्द्र तिमिल्सिनाले समाजमा लुकेर बसेका कुष्ठरोगका बिरामीहरूलाई उपचारको दायरा ल्याएर संक्रमण दरलाई कम गर्ने उद्देश्यले अभियान चलाइएको बताए। उनले भने, हामिले छुट्टा–छुट्टै जाँच कक्ष बनाएर महिला स्वास्थ्यकर्मीद्वारा महिला र पुरूष स्वस्थ्यकर्मीद्वारा पुरूषको शरीर जाँच गरेर २ हजार ७ सयभन्दा बढी व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाइएका छौँ र यस क्रममा तीन जना बिरामी फेला परेका छन्। उनले पुष्टि भएका तीन जना नयाँ बिरामीलाई बहु–औषधी उपचार विधि सुरू गरिएको बताए।
परासन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी संजिता तामाङ्गले पहिले मुल बिरामीको घरपरिवार र छिमेकीलाई मात्र समेट्ने गरिएकोले विगतमा कार्यक्रम खासै प्रभावकारी नभएको बताइन्। उनले भनिन्, अहिले ब्ल्याङ्केट एप्रोजमा मुल बिरामीको घरपरिवार, छिमेकी र समूदायलाई पनि समेट्ने गरि बृहत रूपमा धेरै व्यक्तिहरूको शरीरको जाँच गरेर औषधी खुवाउने गरिएको छ। यसबाट लुकेर बसेका नयाँ बिरामी पत्ता लागेका छन्। यसबाट हामिलाई नयाँ सिकाई पनि भएको छ।
स्वास्थ्यकर्मी जमुना पौडेलले कार्यक्रममा स्क्रिनिङ्ग गर्दा संकास्पद भेटिएका बिरामीलाई थप जाँचको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र कुष्ठरोग पुष्टि भएपश्चात् उनिहरूलाई बहु–औषधी उपचार विधि सुरू गरिएको बताइन्। उनले लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई भने एक खुराक रिफाम्पिसिन खुवाइएको बताइन्। यो कार्यक्रम कुष्ठरोग निवारणमा महत्त्वपूर्ण सावित हुने उनको भनाई छ।
![]()
परासन स्वास्थ्य चौकीका क्षय तथा कुष्ठरोग सम्पर्क व्यक्ति गोरख रोकायाले औषधी खान छुटेका व्यक्तिहरूलाई स्वास्थ्य चौकी आएर आफ्नो शरीरको जाँच गरि औषधी खान आग्रह गरे।
पुर्नवास नगरपालिकाका९ का अध्यक्ष नर बहादुर बिकले पुनर्वास नगरपालिका, वडा नम्बर(९, एनएलआर नेपाल र एनएनएसडब्ल्यूए कुष्ठरोग रोकथामका लागि लागि परेको बताए। उनले वडाका कुनै पनि व्यक्ति नछुट्ने गरि जाँच गरिएको र भविष्यमा रोग नलागोस् भनेर एक खुराक रिफाम्पिसिन खुवाइएको बताए। उनले पुनर्वास नगरपालिका कुष्ठरोग मुक्त पालिका बन्ने दिशामा अगाडि बढेको बताए।
पुर्नवास नगरपालिकामा जेठ १४ गते देखि कुष्ठरोग रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ। पुर्नवास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले एक खुराक रिफाम्पिसिन खाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। यो कार्यक्रम पालिकाका ११ वटै वडाहरूमा सञ्चालन हुनेछ। पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर, एनएनएसडब्ल्यूए(का कार्य समिति सदस्य तथा पदाधिकारीहरूले अभियानको नियमित रूपमा अनुगमन गरिरहेका छन्।
![]()