गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेलमुक्त गरियोस् : महेश बर्तौला - Chaitanya News
  • 2026-11-16
  • 05:36:53
  • आइतबार,कार्तिक ३०, २०८३
  • गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेलमुक्त गरियोस् : महेश बर्तौला

    गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेलमुक्त गरियोस् : महेश बर्तौला

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले भरियाका रुपमा गाँजा बोकेका कारण जेल परेकाहरुलाई जेल मुक्त गर्न माग गरेका छन्।

    ‘जो भरिया भएर गाँजा बोक्दै थिए। ती व्यापारी थिएनन्। हातमुख जोर्नका लागि काम गर्दै थिए ती जेलमा छन्। जेलबाट ती युवाहरुलाई, सरकारले घोषणा गरोस्– तिनिहरुलाई जेलमुक्त गरियोस् त्यो म माग गर्न चाहन्छु’ शुक्रबार प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले भने।

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ। गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो।

    सरकारको योजनामा समर्थन जनाउँदै उनले कैयौं मानिसहरु आफ्नो घरमा थोरै थोरै गाँजा रहेको कारणले समेत जेल जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गरे।

    तर केही दिनअघि संसद बैठकमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गाँजाको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणाको आलोचना गरेका थिए।