काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आफैमा सुनको कचौरा जस्तो भएपनि अरुसँग भिख माग्दै हिँड्ने गरेको टिप्पणी गरेका छन्। पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले देशमै प्रचुर सम्भावना भएपनि विदेशीसँग भिख माग्नु दुःखद भएको बताएका हुन्।
‘नेपाल प्रकृतिले दिएको साधन स्रोतका दृष्टिकोणले गरिब विल्कुल छैनौँ। प्रकृतिले दिएको कुरा भन्ने हो भने तराई मधेसदेखि पहाड, हिमालसम्म विविधता त्यसको उत्पादकत्व र स्रोतहरूको दृष्टिकोणले धेरै धनी छौँ। तपाईँहरूले सुन्नु भएको होला विदेशका कयौँ बौद्धिक अर्थशास्त्रीहरूले नेपाल सुनको कचौरा लिएर भिख मागेर हिँडेको छ भन्ने गर्छन्। नेपाल आफैमा सुनको कचौरा जस्तो छ ’ प्रचण्डले भने, ‘हामी धुनियाभरि रोजी रोटीको निम्ति जान बाध्य छौँ । सरकार दुनियाँभर आर्थिक सहयोगको भिख माग्ने अवस्था छ। यो एउटा विडम्बना हो। नेपाल र नेपालीका निम्ति दुर्भाग्यको कुरा हो।’ देशमा उर्वर जमिन, हरियो जङ्गल र हिमालबाट पर्यटनको प्रचुर सम्भावना रहेको प्रचण्डले बताए। कृषिबाट उत्पादन वृद्धि गरेर निर्यातमुखी अर्थतन्त्र बनाउन सकिने उनले बताए।
‘हामी यस्तो किन भयौँ? आजको प्रश्न वा गहिरो गरी घोत्लिनु पर्ने यही निर छ हाम्रो इतिहास र विरासत यस्तो होइन’ प्रचण्डले भने, ‘अरू ठुला देशहरू वैदेशिक हस्तक्षेपको बुटमुनी कुल्चिदा हामी स्वतन्त्र भएको इतिहास छ। वीरता र बलिदानको दृष्टिकोणले हेर्ने हो भने नेपालीहरू विश्वभर ख्याति कमाएका हौँ।’ नेपालीहरू बहादुरी र वीरतामा डराउने जाति समेत नभएपनि आर्थिक दृष्टिकोणले पछि परेको प्रचण्डले बताए।