चितवन– भ्रष्टाचारको जालोले न्यायलय घेरिएको आलोचना भइरहदा कानुनमन्त्री धनराज गुरुङले आफ्नो कार्यकालमा न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउन लागेको बताए। उनले नेताको घर धाएर न्यायाधीश बन्न नसक्ने बताएका छन्।
उनले न्यायलयलाई स्वच्छ बनाउन आफू लागिपरेको बताए। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेताको घरमा धाउनेले अवसर नपाउने बताए। म रहुन्जेल ब्रीफकेस बोकेर धाउनेहरू न्यायलयको न्यायाधीश बन्न सक्दैनन् भन्नेमा म प्रतिबद्ध छु। नेताको घरमा देउसी खेलेर न्यायाधीश बन्ने दिन गए। लाभ लिन्छु भन्नेले केही पाउदैन ,ुउनले भने,ुन्यायलय भ्रष्टाचार भएको कुरा व्यापक आएको छ। त्यसलाई सफा गर्न त पार्टीले मलाई पठाएको हो।