काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन्।
बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका थिए। शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताए।
संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए। उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र?
मंसिरको चुनावमा एमालेको एकल एजेण्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयीकरण भएको भन्दै उनले भने, ‘याद रहोस्, माओवादीको शक्तिविना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ।