काठमाडौं- निजामती कर्मचारीको सरुवा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यदल गठन गरेको छ। कर्मचारीतन्त्रमा सरुवाको विषय विकराल बन्दै गएसँगै त्यसलाई नियन्त्रण गर्न कार्यदल गठन गरिएको मन्त्री अमनलाल मोदीले बताए।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको हो।
कार्यदलले सरुवासम्बन्धी हालका कानुनी व्यवस्था र अभ्यास हेरेर उपयुक्त सुझाव दिनेछ। सरुवासम्बन्धी बेथिति र गुनासा सम्बोधन गर्न कार्यदल गठन गरिएको उनको भनाइ छ। कार्यदलले सरुवा प्रणालीलाई व्यवस्थित बनाउनेबारे सुझाव दिनेछ।
कार्यावधि, भौगोलिक क्षेत्र आदिका आधारमा सरुवा हुनुपर्नेमा उनले जोड दिए। सरुवालाई व्यवस्थित गर्न आफू लागिपरेको बताए। कर्मचारीहरू सहर र सदरमुकाममुखी भएका कारण दुर्गम क्षेत्रको सेवाप्रवाह प्रभावित भएको उनको भनाइ थियो।
स्थानीय तहमा कर्मचारी समस्या न्यूनीकरण गर्न आफूले प्रयास गरिरहेको उनले जनाएका थिए। आफू आउनुअघि दुई सय ५० भन्दा बढी स्थानीय तह निमित्तका भरमा चलेकामा त्यसलाई घटाएर एक सय ३३ सम्म पुर्याएको उनको दाबी छ।
मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर नगराउने केही स्थानीय तहको खातासमेत रोक्कासमेत गरिएको र हाजिर हुन नजाने कर्मचारीलाई स्पष्टीकरणलगायत कारबाही गरिएको उनले बताए। खटाएका ठाउँमा जान रमाना नै नबुझ्ने कर्मचारीलाई समयसीमा नै तोकेर कारबाहीको चेतावनीसमेत मन्त्रालयले दिएको थियो।