देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न चन्द्र ढकालको आग्रह - Chaitanya News
  • 2026-11-18
  • 06:31:59
  • बुधबार,मंसिर ०३, २०८३
  • देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न चन्द्र ढकालको आग्रह

    देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न चन्द्र ढकालको आग्रह

    काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।

    बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए।

    उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए। साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको उनको भनाइ थियो।

    लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको उनले बताए। उनले निजी क्षेत्रका फाइलहरू सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए।

    क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन सकेको छैन। यस्तो भएपछि लगानीकर्तामा निराश उत्पन्न हुन्छ। यो समग्र निजी क्षेत्रको समस्या हो। लगानीमैत्री वातावरणका लागि पहल गर्नुपर्छ उनले भने।

    चीन र भारतको जनसंख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउनसके पर्यटक खोज्न भौँतारिनु नपर्ने उनले बताए।