‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके : भारतीय विदेशमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 04:57:42
  • आइतबार,कार्तिक ३०, २०८३
  • ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके : भारतीय विदेशमन्त्री

    ‘अखण्ड भारत’ नक्साबारे नेपाल र बंगलादेशले बुझिसके : भारतीय विदेशमन्त्री

    काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा यस विषयमा विवाद नरहेको बताएका छन्।

    भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको बताएका हुन्।

    छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ। यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा जयशंकरले भने, ‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन्। पाकिस्तानको विषय भने यसमा फरक छ।

    उनले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए। ‘पाकिस्तानसँग हाम्रो विषय स्पष्ट छ। यो खाली सरकारको मात्रै होइन, पूरै देश र संसदको स्ट्यान्ड हो। यसमा परिवर्तन गर्नेको कोही सम्भावना छैन।

    बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन्।

    भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सालाई लिएर नेपालको संसदमा चर्को विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत दलहरू हालै सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणमा यो विषय नउठाएको भन्दै आलोचना गरिरहेका छन्।

    त्यस्तै बंगलादेशमा पनि यस विषयमा विरोध चर्किएपछि दिल्लीस्थित आफ्नो मिसनलाई भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ।

    बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका थिए।