साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा - Chaitanya News
  • 2026-06-06
  • 12:03:56
  • शनिबार,जेठ २३, २०८३
  • साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा

    साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा

    काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन्।

    प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन्। विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन्।

    साफ तयारीका लागि प्रशिक्षक एनेसले १७ जेठमा ३० जना खेलाडीलाई प्रारम्भिक रणनीतिक तयारीका लागि प्रशिक्षणमा बोलाएका थिए। तीमध्येबाट आशिष गुरुङ, विक्रम लामा, एन्जल महर्जन, सुदीप गुरुङ, विशाल तामाङ, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन गरी ७ जनालाई कटौती गरिएको हो।

    ६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ।

    शहीद स्मारक ए डिभिजन लिग सन्चालनमा रहँदा बलिया विपक्षीसँग खेल्नुपर्ने नेपाल टिमले विशेष र एकीकृत तयारी गर्न पाएको छ।

    राष्ट्रिय टिमका खेलाडी रिलिज गर्न एन्फाले गरेको प्रस्ताव ए डिभिजन क्लबहरुले नमानेपछि २७ जेठमा लिग सकिएपछि मात्र राष्ट्रिय टिमले एकीकृत प्रशिक्षण गर्नेछ।

    नेपाल टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ।

    समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ। यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

    नेपाल टिम

    गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ

    डिफेण्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

    मिडफिल्डरः पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने।

    फरवार्डः आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर