अर्थतन्त्र चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुरु गरियो : प्रचण्ड प्रधानमन्त्री - Chaitanya News
  • 2026-11-16
  • 04:57:32
  • आइतबार,कार्तिक ३०, २०८३
  • अर्थतन्त्र चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुरु गरियो : प्रचण्ड प्रधानमन्त्री

    अर्थतन्त्र चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुरु गरियो : प्रचण्ड प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबार सुरु गर्ने निर्णय गरिसकिएको बताएका छन्। बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उनले आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्यवृद्धि चक्र हावी हुनु दुःखद् भएको बताए।

    उनले भने, ‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्यवृद्धि चक्र हावी हुनु दुःखद् हो। कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ।

    प्रधानमन्त्री प्रचण्डले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्। ‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन’, उनले भने।

    प्रधानमन्त्रीले सरकार इमानदारपूर्वक विकास र समृद्धिको यात्रामा अग्रसर हुँदा, विकास र समृद्धिको मुद्दामा राजनीतिक दलहरूमा सहमति, सहकार्य र एकता कायम हुँदा र निजी क्षेत्रको साझेदारी र सहयोग रहँदा गुणात्मक सुधार असम्भव छैन भन्ने दृष्टान्तका लागि आफ्नो दोस्रो प्रधानमन्त्रीकाल नै पर्याप्त रहेको धारणा राखे।

    उनले उच्च मुद्रास्फीति र अस्थिर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाए।