काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताएका छन्।
उनले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा कुराकानी हुन नपाएको बताए। यद्यपि परिस्थिति बनेमा र मन्त्रालय खाली भएमा सरकारमा सहभागी हुने ढोका खुल्ने बताएका हुन्।
‘प्रधानमन्त्रीको भारत भ्रम्ण र बजेटका कारण कुरा हुन पाएको छैन’ उनले भने, ‘परिस्थिति बन्यो भने र (मन्त्रालय) खाली भयो भने त्यस कुराको ढोका खुल्छ।’
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाएका थिए। तर रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले पुन जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन्। त्यसका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने प्रचण्डको तयारी छ।