विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने बताएका छन्। भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको बहसले माहौल तताइरहेका बेला थापाले उक्त सम्भावना देखाएका हुन्।
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा अधिकार रहेको बताए। उनले भने, ‘नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन, लान दिइँदैन।
यसका निम्ति अरु कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो।
अखण्ड भारतको नक्साबारे गगनले भने, ‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ। नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन। भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ।
उनले संघ र प्रदेश सरकारमा अहिलेको दलीय गठबन्धनलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको बताएका छन्।
कोशी प्रदेश सरकार सञ्चालनका लागि कांग्रेस सम्मिलित सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न सक्नुपर्नेमा जोड दिए। प्रदेशमा कांग्रेस सम्मिलित बन्ने सरकारको कामले प्रदेशबासीका समस्या र निरासा चिर्न सक्नुपर्ने उनले बताए।
महामन्त्री थापाले भने, ‘अहिले जनतामा देखिएको निरासा चिर्नका लागि सरकारले काम गर्नुपर्नेछ। त्यो कामले जनतामा देखिएको निराशा बोलेर होइन कामले पूरा गर्न सक्नुपर्छ।
अहिलेको गठबन्धनलाई बदल्ने वा अन्य विकल्पबारे सोच्नुपर्ने अवस्था कांग्रेसमा नरहेको बताएका महामन्त्री थापाले गठबन्धनलाई पूर्णरूपमा यसैको सरकारलाई संघ र प्रदेश सबैतर्फ सही ढंगबाट सञ्चालन गर्न प्रतिवद्ध रहेको बताए।