पाल्पा — पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगितामा सेन्ट्रल कलेज रोड्स चितवन र होराइजन फुटबल क्लब वालिङ स्याङ्जा फाइनलमा भिड्ने भएका छन्। फाइनल खेल शनिबार हुनेछ।
बुधबारको दोस्रो सेमिफाइनलमा नेपाली सेनाको दि फेमस महिन्द्र दल गणलाई २–० ले पछि पार्दै होराइजन वालिङ स्याङ्जा फाइनल प्रवेश गरेको हो। तानसेन टुँडिखेलमा भएको खेलमा पहिलो हाफको ७ औं मिनेटमा टीकाराज गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा वालिङकै विवेक चौधरीले दोस्रो गोल गरेर टिमलाई बलियो बनाउँदै २–० ले जित निकाले।
आक्रामक र रक्षात्मक खेलेको सेनाको महिन्द्र दलले निर्धारित समयमा गोल गर्नबाट चुक्यो। बुधबारको खेलमा गोल गरेका वालिङ स्याङ्जाका गुरुङले म्यान अफ दि म्याच भएर नगद तीन हजार पुरस्कार पाए।
शनिबार हुने फाइनल प्रतियोगिताका विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ, पाल्पाली करुवा, मेडल, प्रमाणपत्र पाउने आयोजक अखिल नेपाल फुटबल संघ ९एन्फा० पाल्पाले जनाएको छ। विद्यागत उत्कृष्टले नगद ६ हजार र प्रमाणपत्र पाउनेछन्।