काठमाडौं– काठमाडौंको ठमेलमा भएको २६ वर्षीया एक युवतीको हत्यामा उनकै प्रेमीको संलग्नता खुलेको छ।
चितवनको राप्ती घर भएकी जेनिशा तामाङको हत्या गरेको आशंकामा प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका अमर रञ्जितकारलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा अमर र जेनिशा प्रेम सम्बन्धमा रहेको र सामान्य विवाद हुँदा अमरले हत्या गरेको खुलेको हो।
उनीहरु ठमेलस्थित भगवतीबहालमा करिब छ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको पनि थाहा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालका अनुसार एउटै कोठामा बसेका उनीहरु हिजो दिउँसो सामान्य विवाद हुँदा कुटपिटमा उत्रिएपछि घटना घटेको हो।
मादक पदार्थ सेवन गरेका अमरले प्रेमिका जेनिशालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी जेनिशालाई दिउँसो साढे ३ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकोमा उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए।