आर्थिक भारले डुबेपछि उदयपुर सिमेन्टका महानिर्देशक न्यौपानेले दिए राजीनामा - Chaitanya News
  • 2026-11-18
  • 06:10:02
  • बुधबार,मंसिर ०३, २०८३
  • आर्थिक भारले डुबेपछि उदयपुर सिमेन्टका महानिर्देशक न्यौपानेले दिए राजीनामा

    आर्थिक भारले डुबेपछि उदयपुर सिमेन्टका महानिर्देशक न्यौपानेले दिए राजीनामा

    काठमाडौँ — आर्थिक भारले डुबेपछि उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन्।

    ‘उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएको थियो। पहिलो चरणमा कम्तीमा २५र३० करोड माग गरेको थियो, तर उद्योग मन्त्रालयसँग पैसा छैन,’ मन्त्री रिजालले भने, ‘पैसा नपाउने भएपछि बस्न सक्दिनँ भन्दै राजीनामा दिनुभयो।’ नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ। उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तशुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस,कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ।

    बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले उद्योगको लाइन समेत काटिदिएको थियो। अधिकांश समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बचाइदिन आग्रह गर्दै आएका छन्। सिमेन्टका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कोइला अभाव, उद्योगको मेसिनहरु पुराना भएकाले समस्या भएको बताउँदै आएका थिए। उद्योगमा लगानी नबढाएसम्म उत्पादन बढाउन नसकिने बताउँदै आएका न्यौपाने २०७७ पुस २० को मन्त्रिपरिषदको बैठकबाट २ वर्षका लागि महाप्रबन्धकमा नियुक्त भएका थिए।

    न्यौपानेको कार्यकाल २०७९ पुस २० मा सकिन लागेको थियो। तर, २०७९ असोज ७ मा बसेको मन्त्रिपरिषदले २०७७ पुस २० बाट लागू हुनेगरी थप एक वर्ष थपिदिएको थियो। मन्त्रिपरिषदले विधि मिचेर महाप्रबन्धकको कार्यकाल एक वर्ष थपिदिएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका २०७७ अनुसार महाप्रबन्धकको कार्यकाल २ वर्ष मात्रै हो। कार्यसम्पादन सन्तोषजनक भए बढीमा दुई वर्षका लागि कार्यकाल थप गर्न सक्ने व्यवस्था छ। तर महाप्रबन्धक न्यौपनेको कार्यकाल सुखद थिएन। सिमेन्ट उद्योग अधिकांश समय बन्द नै छ, कर्मचारीहरुले तलब पाएका छैनन्। उद्योग सञ्चालन गर्न नसकेको चौतर्फी आलोचना भएपछि मंगलबार भने राजीनामा नै दिएका हुन्।