पर्वतमा बाँदर धपाउन ३ वर्षदेखि पालैपालो हेरालो - Chaitanya News
  • 2026-11-18
  • 06:09:52
  • बुधबार,मंसिर ०३, २०८३
  • पर्वतमा बाँदर धपाउन ३ वर्षदेखि पालैपालो हेरालो

    पर्वतमा बाँदर धपाउन ३ वर्षदेखि पालैपालो हेरालो

    पोखरा– र्वत कुश्मा ९, ज्ञादीका ७० वर्षीय ख्यामराज लामिछाने थाहा पाउने भएदेखि नै खेतीपातीमै छन्। उमेरले ७ दशक पुगि पनि खेतबारीमा काम गर्दा उनलाई उत्तिकै जोश आउँछ, काम गरेर थाक्दैनन्।

    तर, विगत ७ वर्षदेखि भने लामिछानेलाई आपत आइलागेको छ। बारीमा जब मकै हुर्केर घोका हाल्न थाल्छ, तब हुल बाँधेर बाँदर आइपुग्छन् र फल्न लागेका मकै सबै सखाप पारिदिन्छ।

    सुरुसुरुमा धपाएर भाग्ने बाँदर अहिले मान्छेसँग डराउन पनि छोडिसकेका छन्।

    ‘६–७ वर्षअघि बाँदरहरु खासै देखिन्थेनन्। यसो आएर पनि डिलडिलै जान्थे। अलिअलि धपायो भने भागिहाल्थे,’ लामिछाने सुनाउँछन्, ‘अहिले त बाँदर गाउँमै छिरे। गाउँमा छिरेका बाँदरले केही बाँकी छोडेनन्।

    अरुबेला खासै दुख नदिए पनि मकै फल्न थालेदेखि बाँदरको संख्या पनि एकाएक बढ्ने गरेको स्थानीयको गुनासो छ। मकै थन्काउनेबेला बाँदरले सखाप नै पार्न थालेपछि ज्ञादीकाबासिन्दाले ३ वर्षदेखि पालैपालो हेरालो बस्न थालेका छन्।

    बाँदर हेर्न १५ परिवारले जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्मको समयतालिका नै प्रकाशन गरेर पालो बाँडेका छन्। यसरी उनीहरुले पालोअनुसार बाँदर धपाउन थालेको ३ वर्ष भयो।

    ‘गाउँमा बसिसकेपछि काम नगरेर भएन, केही न केही त गर्नैपर्‍यो। गर्दा पनि बाँदरले बसिखान नदिएपछि के गर्नु त,’ लामिछानेले भने, ‘अहिले हामी १५ घरको आलोपालो बाँदरको चौकीदार बसेका छौं।’ उनका अनुसार २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा मकै खेती हुने भए पनि बीचमा बारी पर्ने किसानहरु चौकीदार बस्नुपर्दैन।

    कुश्मा ९ का वडाध्यक्ष राम शर्मा लामिछानेले आलोपालो बाँदर धपाउन थालेदेखि किसानलाई केही राहत भएको बताए। ‘बाँदर धपाउन के नै गरिएन होला र? बजाउनेदेखि पड्काउने सबै गरियो। केही गर्दा पनि सीप नलागेपछि गाउँले मिलेर नै आलोपालो गर्न थालेका हौं,’ वडाध्यक्ष शर्माले भने, ‘खेतबारीमै गुलेली, ढुंगा लिएर बसेपछि अलि कम भा’छन्।’

    बाँदर धपाउन बारीको डिलमा छाप्रो बनाएको र त्यही छाप्रोबाट मकैको चौकीदारी गरिरहेको लामिछाने बताउँछन्। ‘छाप्रो देखेपछि मान्छे नभए पनि बाँदर अलि डराउने रैछ। केही सजिलो त भएको छ,’ उनी भन्छन्।

    वडाध्यक्ष लामिछाने वनजंगलमा रुख विरुवा बाक्लिँदै गए पनि उनीहरुले खाने खानेकुराको अभाव हुँदै जाँदा बाँदर बस्ती पस्न थालेको हुन सक्ने सुनाउँछन्। जंगलमा उनीहरुले खाँदै आएको कन्दमुललगायतको जंगली फलफूल कमी हुँदै जाँदा खानेकुराका लागि खेतबारी पस्न थालेको उनीहरुको भनाइ छ।

    ‘जंगल बढ्यो। तर, उनीहरुको खानेकुरा कमी आउन थाल्यो । बाँदरको संख्या पनि बढेको हुन सक्छ,’ उनले भने।