प्यूठान — झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीले सोही गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेका छन्।
भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका अध्यक्ष महतराका छोरा मिलनले रोजगार शाखाका सहायक दिपक जीसीलगायतका व्यक्तिमाथि हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए। उनका अनुसार रोजगार शाखा सहायकलगायत अन्य कर्मचारीमाथि हातपात भएको छ।
कर्मचारीमाथि हातपात भएपछि कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएको र कर्मचारीसँगै आएरका मिलनले आफूमाथि नै हातपातको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए।
प्रक्रिया नपुगेको योजनालाई एमसीले जबर्जस्ती पास गराउन खाजेको र कर्मचारीले नमानेपछि हातपात गरेको कर्मचारीहरूले बताएका छन्। एमसी अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्षसमेत हुन्। उक्त घटनापछि हाल झिमरुक गाउँपालिकामा कर्मचारीहरुको आकस्मिक बैठक चलेको छ।