काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘सहकारीको विद्यमान चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै उनले साझा प्रतिबद्धता लिन आवश्यक रहेको बताए। सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको उनको जिकिर छ।
सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै उनले केही सहकारीका कारण सबै सहकारी संस्था अपमानित हुनुपरेको बताए। सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको उनको भनाइ छ।
सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जहाँ–जहाँ अनुशासन भएन, जहाँ–जहाँ सहकारीको मूल्यमान्यता आत्मसात गरिएन, त्यहाँ समस्या भयो।’
गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताउँदै सचिव रेग्मीले असजिलो अवस्थामा अवरोध नभई एकबद्ध हुुनपर्ने आवश्यकता औँल्याए।