रेशम चौधरी भन्छन् : नागरिक उन्मुक्ति पार्टीले अब सिंहदरबार हाँक्छ - Chaitanya News
  • 2026-11-16
  • 04:58:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • रेशम चौधरी भन्छन् : नागरिक उन्मुक्ति पार्टीले अब सिंहदरबार हाँक्छ

    रेशम चौधरी भन्छन् : नागरिक उन्मुक्ति पार्टीले अब सिंहदरबार हाँक्छ

    परासी — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले वर्तमान संविधानले भूमिपुत्र थारु र आदीवासी जनजातिको अधिकार सुनिश्चित नगरेको भन्दै अब संघर्षबाट अधिकार प्राप्त गर्नुपर्ने बताएका छन्।

    पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा चौधरीले अधिकारप्राप्तिको लडाइँमा जेलभित्र हुँदा र अब खुला राजनीतिमा पनि लडिरहने प्रतिबद्धता व्यक्त गरे।

    ‘राज्यले टीकापुर घटनालाई थारुले घटाएको भन्दै विभेदपूर्ण रुपमा मलाई फसाउने काम गर्‍यो। म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन,’ उनले भने, ‘अबको मेरो बोनसको यो जिन्दगी थारु, आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गर्नेछु।’

    सयौं राष्ट्रिय गीत लेख्ने, गाउने गरेको एक पत्रकार, कलाकारलाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक उन्मुक्ति पार्टीले यो देशको पहिचानवादी र पीछडिएका जनताको पक्षमा राजनीति गर्ने उनले बताएका थिए।

    यस्तै २०८४ मा हुने निर्वाचमा मुलुकभर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरू विजयी भएर सिंहदरबार हाँक्ने पनि उनको जिकिर थियो। मन्तव्यको क्रममा नेता चौधरीले आफ्नो जेलभित्रका दुखद अनुभव पनि सुनाएका थिए। साथै उनले अन्य दलका कार्यकर्ताहरूलाई लक्षित गर्दै अब पुराना पार्टी छोडेर आफ्नो नयाँ अभियानमा जोडिन आग्रह गरे।

    अघिल्लो निर्वाचनमा नेता चौधरी जेलमा रहँदा नै कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। गत मंसिरमा भएको निर्वाचनमा पनि उनी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्ति पार्टीबाट तीन जना सांसद निर्वाचित छन्। यही वैशाख १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको सिफारिसमा चौधरीको जेल सजाय मिनाह गरिएको हो।