डीएसपी बढुवा सिफारिसले प्रहरीमा बढ्यो असन्तुष्टि - Chaitanya News
  • 2026-11-16
  • 04:58:27
  • आइतबार,कार्तिक ३०, २०८३
  • डीएसपी बढुवा सिफारिसले प्रहरीमा बढ्यो असन्तुष्टि

    डीएसपी बढुवा सिफारिसले प्रहरीमा बढ्यो असन्तुष्टि

    काठमाडौं- प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेसँगै बढुवाको विषयलाई लिएर प्रहरीमा असन्तुष्टि बढेको छ।

    एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले आकांक्षीले असन्तुष्टि जनाएका हुन्। गम्भीर प्रकृतिको अपराधको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षकहरू नै बढुवा सिफारिसमा छुटेपछि प्रहरीभित्र असन्तुष्टि बढेको हो।

    यसअघि डीएसपीबाट एसपी बढुवा मेरिटको आधारमा गरेपछि प्रहरी महानिरीक्षकको आलोचना भएको थियो। कारबाही भोगेकालाई पनि बढुवा सिफारिस गरेको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।

    बढुवा सिफारिसमा ४ नम्बरमा परेकी एलिजा गिरी प्रहरी निरीक्षकमा भर्ना हुँदा ६९ नम्बरमा रहेकोमा अहिले ३६ नम्बरमा बढुवा सिफारिसमा परेकी छन्।

    मेरिट लिस्टमा १०८ नम्बरमा रहेकी प्रहरी निरीक्षक रुपा थापा बढुवा सिफारिस गर्दा ३० नम्बरमा परेकी छन्। मेरिट लिष्टकै ७ नम्बरमा रहेका राजेशराज पुरीलाई बढुवा सिफारिस गर्दा २० नम्बरमा झारिएको छ।

    मेरिट लिष्टकै २० नम्बरमा रहेका रमेश कुमार श्रेष्ठलाई भने बढुवा सिफारिस गर्दा माथि ल्याउँदै ७ नम्बरमा ल्याइएको छ। प्रहरी निरीक्षकमा भर्ना हुँदा मेरिट लिस्टमा १५ नम्बरमा रहेका सुधीर राईलाई पनि माथि ल्याइएको छ। उनी बढुवा सिफारिस हुँदा ८ नम्बरमा राखिएको छ।

    प्रहरी निरीक्षकमा भर्ना हुँदा २६ नम्बरमा रहेका यम कुमार श्रेष्ठलाई ३ नम्बरमा बढुवा सिफारिस गरिएको छ। उनी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरका अङ्गरक्षक हुन्।

    बढुवा समितिको सदस्य–सचिव मानव स्रोत विकास विभागका प्रमुख एआइजी सन्दीप भण्डारीले बढुवा सिफारिसमा हस्ताक्षर गरेका छन्। कर्मचारी प्रशासन महाशाखाका एसपी अर्जुन तिमिल्सिनालाई समेत ‘बाइपास’ गरेर एआइजी भण्डारीले बढुवा सिफारिसमा चलखेल गरेको आरोप छ।