काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरूको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन्।
मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
महिला उद्यमीहरुलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रुपान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई तोक्ने निर्णयसमेत गरेको छ।
वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा माथिल्लो मैलुङ जलविद्युत आयोजनालाई आयोजनाको टावर राइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन क्षेत्र प्रयोग गर्न दिन पनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ।
बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। यो घोषणा ६-६ महिनामा घोषणा गर्नुपर्ने नियम भएकाले सरकारले अहिले पुनः निर्णय गर्नुपरेको मन्त्री शर्माले जानकारी दिइन्।