विराटनगर– प्रतिनिधिसभामा सोमबार दिनभर बहसमा रहेको नागरिकता विधेयक र मुर्रा भैँसी (राँगा)को विषयलाई लिएर मंगलबार बसेको कोशी प्रदेशसभामा सांसदबीच दोहोरी चल्यो।
प्रदेशसभाको बैठकमा माओवादी संसदीय दलको तर्फबाट विशेष समय लिएर बोलेका गणेश उप्रेती (सुशीलले) एमालेले नागरिकता ऐनको विषयमा सरकारको विरोध गरेर मधेसी जनताको भावनामा खेलबाड गरेको बताए। उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किदा भैँसी उपहार ल्याएको भनेर व्यङ्ग्य गरेको विषयमा पनि खेद व्यक्त गरे।
‘मधेसी अनुहार हुनेवित्तिकै राष्ट्रघाती देख्ने कस्तो नश्लिय चिन्तन हो? राजा महेन्द्रको पालामा पनि यही खालको नागरिकता ऐन ल्याएको हो कि होइन? केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशबाट यही विषय ल्याएको हो कि होइन? उनले प्रश्न गरे, ‘राष्ट्रघात र राष्ट्रवादको बहस चलाइनु खेदजनक छ।’
१२ लाखभन्दा बढी नागरिकहरू नागरिकताबाट वञ्चित गरिएको भन्दै उनले भने, ‘उनीहरूको राष्ट्रवाद के हो?उनीहरू कहाँका नागरिक हुन्? उनीहरूको नागरिक बन्न पाउने अधिकारबाट वञ्चित गर्न पाइँदैन। तपाईँले गर्दा ठिक हुने, तपाईँले ल्याउँदा जनपक्षीय हुने। अर्को सरकारले ल्याउँदा राष्ट्रघात हुने? यो कस्तो नश्लिय चिन्तन हो?
उनले संघीय संसदमा प्रधानमन्त्रीले बोलिरहँदा भएको दुर्व्यवहारप्रति पनि खेद व्यक्त गरे। उनले प्रधानमन्त्रीले बोलिरहँदा सभामुखले अर्को सांसदलाई बोल्न दिएर माइक काट्ने कहाँ अभ्यास छ? भन्ने प्रश्न गरे। ‘मुर्रा राँगा ल्याउने मात्रै सहमति भएको हो? तत्कालीन प्रधानमन्त्री केपी ओलीले राँगा ल्याउने पहुँच पनि राख्न सक्नु भएन। उहाँले त राजा ल्याउने पहुँच पनि राख्नु भएन। अहिले प्रचण्डले ल्याउँदा किन टाउको दुखाएको? के नदी बेचेर आउनु पर्ने? पहाड बेचेर आउनु पर्ने? नस्ल सुधारको लागि राम्रो कुरा लिएर आउँदा प्रशंसा गर्नुपर्नेमा किन खिसिट्यूरी गर्नु?, उनले भने, ‘महाकाली सन्धि गर्दा वार्षिक १२० अर्बको बिजुली बेच्छौँ भन्ने जस्तो अहिलेको हावादारी सम्झौताहरू भएका छैनन्। नेपालको विद्युत् तेस्रो मुलुकमा पुग्ने भएको छ। यो राष्ट्रघात हो? धेरै उपलब्धि भएपनि राँगा मात्रै देख्ने तपाईँको मानसिकता कालो मानसिकता हो।’
उप्रेतीले बोलेका उक्त विषयमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बीचैमा नियमापत्ति गरे। तर, सभामुखले माओवादी सांसद उप्रेतीले बोलिसकेपछि मात्रै भण्डारीलाई बोल्न समय दिएका थिए।
भण्डारीले नागरिकता ऐन कार्यान्वयनको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सर्वोच्चमा भएका विचाराधीन विषयमा संसदमा बोल्न नपाउने जिकिर गरे। भण्डारीले संघीय संसदभित्र के भयो भन्ने कुरा त्यही संसद्को विषय भएको बताउँदै प्रदेशसभामा त्यहाँको बहसको विषयमा उठाउन नहुने बताए। ‘त्यहाँको विषय यहाँ बोल्न पाइँदैन। त्यो संघीय संसद्को विशेषाधिकारको विषयलाई यहाँबाट हनन गर्न पाइँदैन। त्यसकारण यो संविधानमा भएको व्यवस्था विरुद्धमा भएकोले रेकर्डबाट हटाउनु पर्छ,’ भण्डारीले अड्डी लिए।
पुनः भण्डारीको कुरालाई खण्डन गर्दै काँग्रेसका सांसद केदार कार्कीले नागरिकताको विषय अदालतको विषय मात्रै नभई जनताको विषय भएको भन्दै बोल्न पाउनु पर्ने दाबी गरे। ‘यो जनताको विषय हो। जुनसुकै बेला उठाउन पाइन्छ। माननीयज्यूलाई थाहा हुनुपर्छ। उहाँका नेता जनताको आन्दोलनको लागि कृषकको टाउको काटेर आउनु भएको हो। त्यस्ता नेता र पार्टीका सांसदले प्रदेशसभामा के बोल्ने के नबोल्ने भन्ने विषय सिकाउने?’ कार्कीले भने, ‘संसारको जुनसुकै ठाउँमा भएको कुरा पनि जनतालाई अहित हुन्छ भने संसदमा उठ्छ, उठाउनु पर्छ। अघिल्ला सांसदहरुको रेकर्ड हेरेर आउनु होस्। जुनसुकै कुरामा पनि उभिएर नियमापत्ति गर्नु आवश्यक छैन।’
लगत्तै एमाले सांसद विदुरकुमार लिङ्थेपले आफ्ना नेतालाई लक्षित गरी कृषकको टाउको काटेर आएको नेता भनेको विषयमा आपत्ति प्रकट गरे। उनले व्यक्तिगत लाञ्छनाको कुरा नगर्न आग्रह गरे। ‘हाम्रो नेतालाई टाउको काटेर आएको भन्ने? उहाँको नेता प्लेन अपहरण गरेर, पैसा लुटेर आएको कार्यकर्ता उहाँ माननीयज्यू हुनुहुन्छ। हाम्रो कुन नेताले टाउको काट्यो भन्ने प्रमाण छ? यो रेकर्डबाट हटाउनु पर्छ,’ लिङ्थेपले भने।
यद्यपि सभामुख बाबुराम गौतमले कुनै पनि विषय रेकर्डबाट हटाएको घोषणा गरेनन् भने हटाउनै पर्छ भनेर एमालेका सांसदले पनि अडान लिएनन्।
आजको प्रदेशसभाको बैठकमा सभामुख गौतमले कार्यव्यवस्था परामर्श समितिको सदस्यमा जसपाकी सांसद निर्मला लिम्बूलाई राख्ने निर्णय सुनाएका थिए। त्यसपछि प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।