काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ।
दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो। बराबरीसँगै चर्च ब्वाइजको २५ खेलमा ४५ अङ्क भएको छ।
दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ३९ अङ्क छ। दुई खेल कम खेलेको मच्छिन्द्रले अब दुई वटै खेल जिते पनि ४५ अङ्क नै हुनेछ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज नै अगाडि हुनेछ। आज चर्च ब्वाइज च्याम्पियन बन्दा थ्री स्टारलाई भने रेलिगेशनको डर कायमै छ।
थ्री स्टार २९ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ। अब रेलिगेशनबाट बच्न थ्री स्टारले आफ्नो अन्तिम खेल जितेर मात्र पुग्ने छैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ।