कोशी सरकारबाट समर्थनसमेत फिर्ता लिएर बाहिरियो माओवादी - Chaitanya News
  • 2026-11-16
  • 04:10:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • कोशी सरकारबाट समर्थनसमेत फिर्ता लिएर बाहिरियो माओवादी

    कोशी सरकारबाट समर्थनसमेत फिर्ता लिएर बाहिरियो माओवादी

    विराटनगर– नेकपा माओवादी केन्द्रले सरकार समर्थनसमेत फिर्ता लिएर सरकारबाट बाहिरिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुनै लाग्दा माओवादी सरकारबाट बाहिरिएको हो। माओवादीले सरकारलाई दिएको समर्थन फिर्तासँगै हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

    केन्द्रको निर्देशन अनुसार कोशी प्रदेश सरकारको सरकार समीकरण फेर्ने नेकपा माओवादी संसदीय दलको बैठकले निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले कोशी प्रदेश संसदीय दललाई तत्काल एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।

    हिजो साँझ मात्र पनि नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले निर्णय गर्न सकेको थिएन। आज बिहान प्रदेशका पदाधिकारी सहित बसेको बैठकले सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णय गरेको हो। केन्द्रको निर्देशन अनुसार नेकपा माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

    यसअघि नै जसपाले कोशी सरकार छोडिसकेको थियो। जसपाले समर्थन फिर्ता लिएको दिनदेखि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नु पर्ने कानुनी व्यवस्था छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकार तत्काल नछाड्ने बताएको छ। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले तत्काल सरकारलाई दिएको समर्थन छाड्ने वा फिर्ता लिने कुरा नरहेको बताए। ‘राप्रपा अस्थिरता निम्त्याउने पक्षमा छैन, उनले भने, सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ, २४ गते नीति तथा कार्यक्रम आउँछ, असार १ गते बजेट ल्याएपछि कसरी अघि बढ्ने भन्ने हुन्छ।’ आजै मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा समेत बुझाएका छन्।

    ९३ सदस्यीय रहेको कोशी प्रदेश सभाबाट सरकार बनाउन ४७ सांसदसहितको बहुमत चाहिन्छ। वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन थियो।