संसद् बैठकमा करको दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने प्रतिपक्षको माग - Chaitanya News
  • 2026-11-16
  • 04:09:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • संसद् बैठकमा करको दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने प्रतिपक्षको माग

    संसद् बैठकमा करको दर हेरफेरबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने प्रतिपक्षको माग

    काठमाडौं– प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा ३ घण्टा ढिला सुरु भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक करको दर हेरफेरबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत विपक्षी दलले विरोध जनाउने भएपछि बैठक २ बजे सुरु भएको हो।

    आज बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठको संलग्नता देखिएको भन्दै प्रतिपक्ष दलले संसदमा विरोध गर्ने तयारी गरेका हुन्।

    प्रतिपक्ष दलले यस विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

    प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको छ। आजको बैठक पनि आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची छ।