काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन्।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो। यसमा प्रोटोकल पनि मिलेन। पीए छोरी राख्नुभएको छ। तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव पनि छैन। अफिसियल रेकर्ड राख्ने, टिपोट गर्ने पनि कोही छैन’ ओलीले भने, ‘प्रोटोकलमा यस्तो यस्तो हुन्छ? अब आज छोरी भोलि नातिनी लिएर जाने?
भारतले सीमा मिचेको छ भनेर बोल्न नसक्नु कमजोरी रहेको ओलीको आरोप छ।
‘सीमाना मिचिने हामी बोल्न नमिल्ने, सीमाभन्दा यता आएर छिमेकी भारतको फौज बस्ने, सीमाभन्दा भारतीय फौज आयो भन्न नपाउने’ ओलीले भने, ‘के हाम्रो भूमि सुगौधी सन्धिपछि १४६ वर्ष भोगचलन गरेको होइन। यसलाई सदर गर्नुपर्छ, नक्सा, विद्धानका भनाई र सन्धिलाई प्रमाणका रुपमा पेश गर्नुपर्छ।’