रास्वपा सांसददरा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव - Chaitanya News
  • 2026-06-06
  • 12:04:08
  • शनिबार,जेठ २३, २०८३
  • रास्वपा सांसददरा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव

    रास्वपा सांसददरा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ।

    संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउनुपर्ने भन्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

    ‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसदबाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’ संकल्प प्रस्तावमा भनिएको छ।

    यस वर्ष पनि डेंगु रोगले महामारीको रुप लिन सक्ने प्रबल सम्भावना रहेको, विश्व स्वास्थ्य संगठनले नेपाललाई यो रोगको जोखिमयुक्त मुलुकको सूचीमा राखेको र डेंगु रोगका लागि प्रभावकारी औषधि हालसम्म पत्ता लागिनसकेको सांसद श्रेष्ठले बताएका छन्।

    संकल्प प्रस्तावमा डेंगु रोगको विषयमा ब्यापक जनचेतना जगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरुलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ।

    त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालहरुको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य संघसंस्थाहरुको साधन स्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ।