काठमाडौँ– अफगानिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ।
श्रीलंका टूरमा रहेको अफगानिस्तानले पहिलो एकदिवसीय खेलमा घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको २६९ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ९८ रन बनाए भने रहमत शाहले ५५ रन बनाएका थिए। त्यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३८ र मोहमद नावीले अविजित २७ रन बनाए।त्यस्तै श्रीलंकाका बलर कसुन राजिथाले २ विकेट लिए भने लाहिरु कुमारा र माथीशा पाथिरानाले एक एक विकेट लिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा अल आउट हुदै २६८ रन बनाएको थियो। श्रीलंकाका लागि चारिथ असलंकाले ९१ रन बनाए भने धनन्जय डि सिल्भाले ५१ रन बनाए। त्यस्तै पथुम निस्साकाले ३८, दुशान हेमान्थाले २२, कप्तान दसुन शनाकाले १७ रन बनाएका थिए।
त्यस्तै अफगानिस्तानका बलर फजाल्लाहक फारुकी र फारीद अहमदले २–२ विकेट लिए भने अजमतुल्लाह ओमाराजै, मुजीब उर रहमान, नूर अहमद र मोहमद नावीले एक एक विकेट लिए।
यो जितसँगै अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता कायम गरेको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुदै छ।