काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले अत्ति गरेको भन्दै बेला-बेला विभिन्न खाले अभिव्यक्ति दिँदै आएका छन्। केही दिन पहिले सभापति देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताएकोमा आज पनि सोही खाले अभिव्यक्ति दिएका छन्।
शुक्रबार काठमाडौंमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णय सहेर नबस्ने बताएका हुन्। यस्ता निर्णयले भोट पाए पनि कांग्रेसले विश्वास गुमाएको उनको टिप्पणी थियो।
कांग्रेसलाई बदल्नु आवश्य रहेको बताउँदै उनले पार्टीलाई जस्ताको तस्तै राखेर जनतामा विश्वास नफर्किने दाबी गरे। कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोका निर्णयहरू गरेको उनको भनाइ थियो।
आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको र ती निर्णय गर्नुअघि पार्टीमा कुनै छलफल नगरेको उनको गुनासो थियो।
‘मैले त पछि थाहा पाएको हो। यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ। आजको दिनसम्म चल्यो। मैले सहँदै आएँ। किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ। नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न भन्ने कुरा मैले बदल्ने हो,’ उनले भने। उनले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताए।
‘जुन कुराले पार्टीको अहित गर्छ। त्यस्ता निर्णयहरूको भारी पार्टीका तमामले कार्यकर्ताले बोक्नुपरेको छ’, उनले भने, ‘अब लडेर जुधेर रोक्ने हो। एकपछि गलत निर्णय गर्दै जाने हो भने यो पार्टी यसरी थिचिन्छ कि यो भारी बोक्न अव सकिँदैन। उठाउन पनि सकिँदैन।’ उनले नेतृत्वले सुझबुझ बिनै गरेको निर्णय पार्टीका लागि भारी पर्ने बताएका छन्।