काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन्।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका हुन्।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो।
यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। मियाँ भने हज समितिको अध्यक्ष हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ। पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ। उनीहरुको बयान शुक्रबार लिइने भएको छ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।
यो प्रकरणमा ३० जना प्रतिवादी रहेकोमा १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन्। बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन्।