काठमाडौँ— कप्तान रुविना क्षेत्री लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच बनेपछि नेपालले मलेसियाविरुद्ध पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा २–१ को अग्रता लिएको छ। नेपालले बिहीबार तेस्रो खेलमा मलेसियाको महिला राष्ट्रिय टोलीलाई २७ रनले पराजित गर्यो।
मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपालले क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओभलमा ५ विकेट गुमाई १ सय १० रन बनायो। ओपनर कविता कुँवर २ रनमा आउट भए पनि सीता रानामगर, ज्योति पाण्डे, इन्दु बर्मा र रुविनाको प्रयासमा नेपालले राम्रो स्कोर बनायो।
कुनै बाउन्ड्री प्रहार नगरे पनि सीताले ३५ बलमा २१ र इन्दुले ३० बलमा २० रन बनाइन्। ज्योतिले २४ बल खेल्दै ३ चौकासहित २३ र रुविनाले १५ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रन बनाइन्। रुविना १९ औं ओभरमा रनआउट भइन्। कविता जोशी ६ बल खेलेर १ र विन्दु रावलले ३ बल खेलेर ३ रनमा अविजित रहिन्। मलेसियाबाट निक एटिइलाले २ तथा एइस्या इलिसा र विनफ्रेइड दुराइसिंगमले १–१ विकेट लिइन्।
माहिराह इस्माइलले अविजित ४४ रन बनाए पनि मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८३ रनमात्र बनाउन सक्यो। इस्माइलले ५४ बल खेल्दै ६ चौका प्रहार गरिन्। ओपनर दुराइसिंगमले २० रन बनाइन्। नेपालबाट कविता कुँवरले ४ ओभरमा १०, सीताले २ ओभरमा १३ र इन्दुले ३ ओभरमा ७ रन खर्चेर १–१ विकेट लिइन्।
नेपालले ईश्वरी विष्टलाई ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गराएको थियो। ब्याटिङमा मौका नपाएकी उनले बलिङमा ४ ओभरमा १६ रन खर्चेकी थिइन्। पहिलो खेलमा ५ विकेटले स्तब्ध भएको नेपालले मंगलबार दोस्रो खेलमा मलेसियालाई सजिलै ७ विकेटले पराजित गरेको थियो। चौथो खेल शनिबार हुनेछ।