धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वास्तविकताका आधारमा युवावर्गलाई समेट्दै सन्देश दिनेखालले रोजगारी सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन।
राष्ट्रिय युवा परिषद, युवालयलगायत संस्थाको आयोजनामा धनगढीमा भएको जेठ १४ र १५ गते भएको नीति संवाद तथा युवा महोत्सवको घोषणापत्र बिहीबार बुझ्दै मुख्यमन्त्री शाहले युवावर्ग बाध्यता र रहर दुईवटै कारण देश छोडिरहेकाले उनीहरुलाई स्वदेशमै रोक्ने प्रयास गर्न लागिपरेको बताए।
विपन्न परिवारका युवालाई पेट पाल्न भारत तथा खाडीमुलुक र हुनेखाने परिवारका युवा युरोप, अमेरिकातर्फ रहरले जानेगरेको अवस्थालाई आफूले बुझेको बताउदै उनीहरुलाई छुने खालको कार्यक्रम बनाउन खोजिरहेको चर्चा गरे।
हामीले लागूऔषध दुव्र्यसनीबाट जोगाउन समेत केही कार्यक्रम ल्याउँछौ उनले भने, “युवालाई के उपायले स्वदेशमै रोक्न सकिन्छ, राम्रो सुझावको अपेक्षा हामीले सबैतिरबाट गरेका छौं, राम्रो सुझावलाई सरकारका कार्यक्रममा समेटेर जानेछौं।”
एक प्रसंगमा मुख्यमन्त्री शाहले आफू सुदूरपश्चिमका नौ वटै जिल्लामा घुम्दा सबैतिर बाटोघाटो पुगेको, स्वास्थ्य चौकी, विद्यालय बनेको पाएको बताउँदै केही पनि काम भएन भनेर निराश बनाउने कुरा गलत भएको बताए।
सो अवसरमा युवालयका अध्यक्ष सन्तोष महर्जन, वालिका दुलही होइनन्का निरीजना भट्ट, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य किरण थापाले नीति संवाद तथा युवा महोत्सवले “समुन्नत सुदूरपश्चिम प्रदेशका लागि साझा अठोट” भन्ने नाराका साथ जारी गरेको २१ बुँदे घोषणापत्र मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरेका थिए।
युवालयका अध्यक्ष महर्जनले २१ बुँदे घोषणापत्रले युवाका लागि गर्नुपर्ने काम प्रस्ट रुपमा उल्लेख गरेको दावी गरे। यस्तै, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य थापाले मनमनै विदेश जाने टिकट काटिसकेका युवालाई रोक्न सकेर सही काममा लगाउन सके देशमा चाँडै समृद्धि आउने बताए।