ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने - Chaitanya News
  • 2026-06-06
  • 12:03:55
  • शनिबार,जेठ २३, २०८३
  • ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने

    ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने

    काठमाडौं– ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने भएका छन्।

    बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेको हो।

    ६ असारदेखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ। त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरे पनि प्रशिक्षण सुरु गर्न सकेका छैनन्।

    १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ। २७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने बताएका हुन्।

    एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबको बैठकले गरेको छ।

    ‘पटक पटक ताकेता गर्दा पनि तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी र म्यान अफ द म्याचबापतको रकम उपलब्ध नगराइएका कारण जेठ १९ गतेदेखि रकम उपलब्ध नहुन्जेल क्लबका पदाधिकारी र खेलाडीले हातमा कालोपट्टी बाँधेर खेल निरन्तर गर्ने निर्णय भयो’, १० ए डिभिजन क्लबले संयुक्त रुपमा हस्ताक्षर गरेको निर्णयमा भनिएको छ।

    यो बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु (आर्मी, एपीएफ र नेपाल पुलिस)का प्रतिनिधि सहभागी थिएनन्।