उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास - Chaitanya News
  • 2026-11-16
  • 02:32:57
  • आइतबार,कार्तिक ३०, २०८३
  • उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास

    उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास

    महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । गौशाला–२ निगौलस्थित निर्माणाधीन धर्मशालाको विषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथि कार्यकक्षमै आक्रमण प्रयास भएको हो ।

    नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजी जग्गा भएको भन्दै दाबी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालालाई बोलाएर मंगलबार बेलुका छलफल अगाडि बढाएकी थिइन् । छलफलकै क्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाई नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

    उपमेयर महतोले श्यामसुन्दर मण्डलले विषयवस्तुलाई विषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरेको बताइन् । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवादकै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते भएको बताइएको छ । उनको हातमा सामान्य चोट लागेको छ । ज्यान मार्ने धम्की समेत दिएको उनको भनाइ छ ।

    अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानीय बलराम सापकोटाले उपमेयरको कार्यकक्षमा अमर्यादित गाली बेइज्जतीका काम भएको बताए ।

    वडा अध्यक्ष श्यामसुन्दर मण्डलले भने उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको बताएका छन् । अध्यक्ष मण्डलले उपमेयरसँग कुरा गरिरहेको वेला सामान्य विवाद भएको बताए ।