सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य - Chaitanya News
  • 2026-11-16
  • 02:20:11
  • आइतबार,कार्तिक ३०, २०८३
  • सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य

    सरकारले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य

    हेटौँडा– हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्ने बताएका छन्। उनले प्रदेशसभाको बुधवार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिँदै सरकारले घरेलु उद्योगहरूलाई प्रोत्साहन गरेर घरेलु मदिरा र जातीय तथा सांस्कृतिक खाद्यान्नलाई ब्राण्डिङ गरेर बाहिरी देशमा निर्यात गर्नुपर्ने बताए।

    ‘हामीले घरेलु उद्योगलाई प्रोत्साहन गरेर घरेलु मदिरालाई ब्राण्डिङ गरी निर्यात गर्नुपर्छ। सांस्कृतिक र जातीय खाद्य पदार्थलाई बाहिरी देशहरूमा निर्यात गरेर आर्थिक उपार्जनमा नागरिकहरूलाई जोड्नुपर्छ। उनले भने, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई आर्थिक सुदृढीकरण र जनतामुखी बनाउनुपर्छ।’ नेता बज्राचार्यले राजनीतिमा इमानदारिता आवश्यक रहेको बताए छल र ढाँटले राजनीति टिक्न नसक्ने भन्दै उनले सबैलाई इमानदार भएर जनताको काममा लाग्न बताए। उनले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूमा सरकारको ध्यान नपुगेको बताए।

    ‘प्रदेशका १३ जिल्लाका विभिन्न क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी भइरहेको छ। तर, पहिले देखिएका सम्पदा सूचीमा रहेका क्षेत्र अपहेलित भएका छन् त्यसलाई व्यवस्थापन गरेर बढी मात्रामा पर्यटक ल्याउन सकिन्छ। उनले विभिन्न जिल्लालाई समेटेर विशेष क्षेत्रका आधारमा कृषि उत्पादनका योजनाहरू कार्यान्वयन गर्न सकिने बताए। सरकारका कामहरूका विषयमा समीक्षा गर्न जनतासमक्ष पुग्नुपर्ने उनको भनाई छ। सरकारले जनताका सुझावहरूलाई समेटेर आफ्ना कामहरू अघि बढाउनुपर्ने उनले बताए।

    योजनाहरू पारदर्शी बनाएर अघि बढे मात्र नागरिकहरू उत्साहित भएर कार्यान्वयनमा अग्रसर हुने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए। प्रदेशलाई सक्षम र सबल बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ।