काठमाडौँ– चीनको हाङ्झोउमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि कराँतेको अन्तिम छनोट सम्पन्न भएको छ। आगामी एसियाली खेलकुदका लागि कराँतेबाट आठजना खेलाडी छनोट भएका हुन् । छनोट प्रतियोगिता जेठ १६ र १७ गते भएको थियो।
कराँतेका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, महिला ६८ केजीभन्दा माथिको तौलसमूहमा एरिका गुरुङ एसियाडका लागि छनोट भएकी छन्। महिला ६१ केजीभन्दा मूनिको तौलसमूहमा निरुपा तामाङ छनोट भएकी छन्।
यसैगरी महिला ५०—५५ केजी तौलसमूहका लागि सविना श्रेष्ठ छनोट भएकी छन्। महिला एकल काताका लागि एलिशा रास्तकोटी छनोट भएको जानकारी प्रशिक्षक श्रेष्ठले दिए। पुरुष ६७ केजीभन्दा मूनिको तौलसमूहमा सन्तोष श्रेष्ठ छनोट भएका छन्।
यसैगरी पुरुष ७५ केजीभन्दा मूनिको तौलसमूहमा मोहम्मद सेख छनोट भएका छन्। पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा विप्लभ श्रेष्ठले एसियाडमा स्थान बनाएका छन्। पुरुष एकल कातामा स्वर्णिम मानन्धर छनोट भएका छन्। १९औं एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ।