काठमाडौं – प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय संसद भवनको नक्साको विषयमा बहस छेडिएको छ । यो विषय भ्रमणमा उठ्छ कि उठ्दैन् भनेर नेपालीहरुले चासोका साथ लिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतको संसद भवनको भित्तेनक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम रहेको भनी ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेतको ध्यानाकर्षण गरे । उर्जामन्त्री बस्नेत पनि प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सदस्य छन् ।
‘भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको आएको छ । यस सन्दर्भमा के भएको हो ? सरकारको ध्यान पुगोस्’ एमाले सांसद गैरेले भने । मन्त्री बस्नेतले यो विषय सरकारको नोटिसमा रहेको जवाफ फर्काए । उनले नक्सा कस्तो प्रकृतिको हो भनेर बुझ्न आवश्यक रहेको पनि उल्लेख गरे ।
यस विषयमा मंगलबार बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा समेत छलफल भएको छ । सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले भनेका छन्, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला । आधिकारिकता के हो बुझ्छु ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो विषय उठाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाएका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको सत्य हो भने उचित नहुने ओलीको भनाइ छ । उनी भन्छन्, भारतजस्तो एउटा पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको देशले काठमा कुँदेर नेपालको भुमि संसद जस्तो ठाउँमा राख्ने व्यवहार गर्छ भने उचित भन्न सकिँदैन् ।’
एमाले अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको क्रममा सो नक्सा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए । उनी थप्छन्, प्रधानमन्त्री प्रचण्डले त्यो नक्सा सच्याउनुस्, हटाउनुस् भन्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि भारत भ्रमण गर्दैछन् ।