नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन प्रतिवादीको बयान लिइयो - Chaitanya News
  • 2026-11-16
  • 02:07:32
  • आइतबार,कार्तिक ३०, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन प्रतिवादीको बयान लिइयो

    नक्कली भुटानी शरणार्थी प्रकरणमा आज तीन प्रतिवादीको बयान लिइयो

    काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मंगलबार तीन आरोपितको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको हो।

    दाङ स्थायी घर भएका शर्मा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध छन्। राई भने तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार थिए। यस्तै, केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव थिए।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जना प्रतिवादीले बयान दिएका हुन्। जिल्ला अदालत काठमाडौँमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो।

    ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन्। पक्राउ परेका १७ मध्ये अहिलेसम्म ८ जनाको बयान लिइएको छ।

    यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो।