एमालेको टिप्पणी- बजेटले राजस्व लक्ष्य भेटाउँदैन - Chaitanya News
  • 2026-11-16
  • 02:00:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • एमालेको टिप्पणी- बजेटले राजस्व लक्ष्य भेटाउँदैन

    एमालेको टिप्पणी- बजेटले राजस्व लक्ष्य भेटाउँदैन

    काठमाडौं- सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले टिप्पणी गरेको छ। एमालेले बजेटलाई ‘आम्दानीबिनाको खर्च विवरण’को मात्रै भएको आरोप लगायो। एमाले उपाध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणाअनुसार सरकारले राजस्व लक्ष्य नै पूरा गर्न नसक्ने दाबी गरेका छन्।

    उनले स्रोत व्यवस्थापनको सुनिश्चितता नभएको र बजेटले राजस्व लक्ष्य नभेटाउने बताए। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएकोमा मुलुकको बिग्रँदो अर्थतन्त्र सम्बोधन गर्नुको सट्टा सरकारले त्यसको बेवास्ता गरेको बताए।

    आन्तरिक ऋण परिचालनमा पनि बजेट चुकेको पौडेलले बताए। पौडेलले आन्तरिक ऋणको साइज पनि बढी भएको बताए। बजेटमा सरकारले नारै नारालाई स्थान दिएर साधारण खर्च कटौती गर्ने भनेर पुँजीगत खर्च कटौती गरेको एमालेको टिप्पणी छ।

    बजेट देशको आम्दानी र खर्च कति हो भनेर आउने पूर्वानुमान भए पनि सरकारले सार्वजनिक गरेको बजेट पूर्वानुमान यथार्थपरक नभएको उनले बताए।

    ‘आन्तरिक ऋणका लागि लक्ष्य राखिएकोमा बैंकको तरलता सबै सरकारले ऋण लियो भने बल्ल पुग्छ। निजी क्षेत्रले ऋण कहाँबाट लिन्छ? आन्तरिक ऋणको साइज पनि बढी छ। बैंकसँग अहिले तरलताको लिमिटेसन छ। आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउँछु भनेको छ। त्यो उठायो भने बैंकको तरलताजति सरकारीमै ठिक हुन्छ,’ उनले भने।

    बजेटको हरेक प्याराग्राफमा नारैनारा देखिएको र नेपालको इतिहासमा यति धेरै नारा भएको बजेट कहिल्यै नआएको उनले बताए।