दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउँछु : प्रधानमन्त्री दाहाल - Chaitanya News
  • 2026-11-16
  • 02:05:43
  • आइतबार,कार्तिक ३०, २०८३
  • दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउँछु : प्रधानमन्त्री दाहाल

    दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउँछु : प्रधानमन्त्री दाहाल

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छ। मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठुला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताएका हुन्।

    उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजी नीति गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ। अब केही हुन्छ र हुनसक्छ भनेर।

    प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युत्को बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता जनाए। भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने उनको भनाई थियो। उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको पनि बताए।