काठमाडौं– चीनले द्रुत गतिमा अघि बढाइरहेको अन्तरिक्ष कार्यक्रम अन्तर्गत सन् २०३० अगावै चन्द्रमामा अन्तरिक्षयात्रीहरू उतार्ने योजना सार्वजनिक गरेको छ।
चिनियाँ अधिकारीहरूले सोमवार गरेको घोषणा अमेरिकासँगको प्रतिस्पर्धा चर्किरहेको बेलामा भएको हो।
यसले सन् १९६० र १९७० को दशकमा अमेरिका तथा सोभियत संघबीच भएको प्रतिस्पर्धाको स्मरण गराएको छ।
अमेरिकाले चाहिँ सन् २०२५ को अन्त्यसम्ममा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा पुनः पुर्याउने लक्ष्य लिएको छ। त्यसमा निजी क्षेत्रका स्पेसएक्स र ब्लु ओरिजिनले पनि सहयोग गर्नेछन्।
यसैबीच चीनले मंगलवार बिहान तीनजना अन्तरिक्षयात्रीलाई देशको स्पेस स्टेशनतर्फ पठाएको छ। त्यस स्टेशनमा ६ महिनादेखि रहेका अन्तरिक्षयात्रीलाई उनीहरूले विस्थापित गर्नेछन्।
चीनले चन्द्रमाको सतहमा छोटो अवधि बस्ने तथा मानव र रोबोटको संयुक्त अन्वेषण गर्ने तयारी गरिरहेको चाइनिज म्यान्ड स्पेस एजेन्सीका उपनिर्देशक लिन सिछ्याङले बताएका छन्।