काठमाडौं– नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ।
समूह ए अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ८ रनले पराजित गरेको हो।
१३ ओभरमा छोट्याइएको खेलमा कर्णालीले दिएको ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो। गण्डकीका लागि सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए। इनिङ्सको अन्तिम बलमा आउट भएपछि उनी अर्धशतक बनाउनबाट चुके।
अनिल गुरुङले १४ रन बनाए भने गण्डकीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए यस्तै प्रकाश जैशी र अनुज चुनाराले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो। कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक १९ रन बनाए भने विपिन रावल र सुबास ऐयरले समान १३ रन बनाए।
दिनेश अधिकारीले १२ रन बनाए भने सुमित बुढाथोकी १२ रनमा अविजित रहे।
गण्डकीका अमृत गुरुङले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए।
समूह एमा दोस्रो जितपछि कर्णालीले ५ खेलबाट ६ अंक जोडेको छ र तेस्रो स्थानमा छ। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको पनि समान ६ अंक नै छ। तर राम्रो नेट रनरेटमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ।