काठमाडौं– डेंगी रोगको संक्रमणबाट नेपालमा १० हजार जना संक्रमित भइसकेका छन्। भयावह रुपमा फैलिएको डेंगीले सबैभन्दा बढी असर काठमाडौं उपत्यकालाई पारेको छ।
डेंगी भएमा आफ्नै मनले औषधि सेवन गर्नुहुँदैन। जसका कारण ज्यानैसमेत जानसक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन्। जनस्वास्थ्य विशेषज्ञ रवीन्द्र पाण्डेले ख्याल गर्नेपर्ने २० टिप्स दिएका छन्।
१, ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला। यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ। ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला।
२, बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ।
३, अधिकांश संक्रमितलाई बान्ता हुने र वाकवाकी हुने हुन्छ। धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन्। यो निकै घातक हुन्छ। जति धेरै झोलिलो तथा पोषिलो खायो त्यति नै छिटो निको हुन्छ। मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ।
४, द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नु पर्दैन।
५, मेवाको पात जथाभावी नखानुहोला। यसले डेंगी निको गर्दैन। प्लेट्लेट्स कमी भएमा चिकित्सकको सल्लाह अनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ। प्लेट्लेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ।
६, दाल, जाउलो, गेडागुडीको रस, दूध, नरम खाना, फलफूल ९मेवा, किवी, अनार, जुनार, स्याउ, नरिबलको पानी, माल्बोक केरा, काँक्रो०, हरियो सागसब्जी, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ।
७, शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक पिउनु पर्दछ।
८, एक दिन बिराएर प्लेट्लेट्स चेक गर्नुपर्दछ।
९, नाक, मुख, गिंजा, छाला, मलद्वार, मुत्रद्वार आदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ।
१०, बान्ता, पखाला, एलर्जी आदिको लागि चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ।
११, खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकोले आत्तिनु पर्दैन
१२, डेंगीमा धेरै मुख बार्नु पर्दैन। पच्ने खाना खान सकिन्छ। पिरो, मसलादार खाना, घ्यू, बोंसो, अल्कोहल नखानुहोला। धेरै गुलियो नखानुहोला।
१३, डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ। १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन।
१४, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केही दिन रहन्छ। नआत्तिनुहोला ्र औषधि र खानपिनले निको हुन्छ।
१५, आराम गर्नुहोला। शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला।
१६, दाँत ब्रस नगर्नुहोला। मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस्।
१७, डेंगी सँगै बसेर सर्दैन। तपाईलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ। तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला।
१८, चिकित्सकको सिफारिस बिना पारासिटामोल बाहेक कुनैपनि औषधि नखानुहोला।
१९, लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला।
२०, खोज र नष्ट गर अभियानको लागि लामखुट्टे हुर्किने र प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला।