काठमाडौँ — मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पाँच खेलमध्ये पहिलो खेलमा नेपालको महिला क्रिकेट टोली सोमबार ५ विकेटले पराजित भएको छ। नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियासँग पहिलो पटक पराजित भएको हो।
क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओवलमा मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो। ज्योति पाण्डेले ११ र सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। डेब्यु गरिरहेकी सम्झनाले २५ बल खेल्दै १ चौका प्रहार गरिन्।
ज्योतिले १७ बल खेल्दै २ चौका प्रहार गरिन्। यो बाहेक नेपालबाट चौका प्रहार गर्ने खेलाडी ओपनर काजोल श्रेष्ठमात्र थिइन्। उनले ६ रन जोडिन्। अर्की ओपनर सीता रानामगर आफूले सामना गरेको पहिलो बलमै आउट भइन्। इन्दु वर्मा ३, कप्तान रुविना क्षेत्री २, कविता कुँवर र अप्सरी बेगम शून्य, कविता जोशी १, अस्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।
निक एटिइलाले ३ विकेट लिइन्। प्लेयर अफ द म्याच उनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चिइन्। एइना हसिम, एइसा फिर्दाउज र माहिराह इस्माइलीले २–२ विकेट लिइन्। एइनाले ३.५ ओभरमा १०, एइसाले २ ओभरमा ९ र माहिराहले ४ ओभरमा ३ रनमात्र खर्चेकी थिइन्।
मलेसियाले १३.२ ओभरमा लक्ष्य पूरा गर्यो। वान जुलिया रोस्दीले १३ र एइनाले अविजित १२ रन बनाइन्। नेपालबाट रुविना र सीताले २–२ तथा कविता कुँवरले १ विकेट लिइन्। शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ।